१२ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।
पार्टीको केन्द्रीय समिति बैठक आज घन्टीघरस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकले पार्टीको विधान संशोधन गरी बालेन्द्र साहलाई संसदीय दलको नेता नियुक्त गर्ने तयारी गरेको बताइएको छ।
पार्टीको विधान अनुसार संसदीय दलको नेता चुनाव अघि साधारण सदस्यबाट मतदान गरि चयन हुनुपर्ने व्यवस्था थियो। तर सो व्यवस्था कार्यान्वयन हुन नसक्दा विधान संशोधन गर्ने निर्णय भएको हो। रास्वपाले पहिल्यै बालेनलाई संसदीय दलको नेता बनाउने सहमति गरिसकेको छ।
यद्यपि पार्टीको वरिष्ठ नेता भए पनि बालेन अहिलेसम्म केन्द्रीय समिति बैठकमा सहभागी भएका थिएनन्। उनी रास्वपामा आएपछि मात्रै एकपटक बैठक बसेको थियो, जबकि सचिवालय बैठकहरूमा भने उनी अनुपस्थित थिए। यसले आलोचना समेत पाएको थियो। आज भने उनी बैठकमा उपस्थित हुने नेताहरूले पुष्टि गरेका छन्।
आजको बैठक सांसदहरूको सपथग्रहणपछि बस्दैछ र बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने पनि अपेक्षा गरिएको छ। बैठकपछि बालेन संसदीय दलको नेता बनेपछि संसदीय दलको पहिलो बैठक पनि बस्ने तयारी छ।

















