Logo

१२ चैत, काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित युवा सांसद सुहाङ नेम्वाङले संसदीय राजनीतिमा आफ्नो कदम दह्रोसँग अगाडि बढाउने सङ्केत गर्दै पार्टीले जिम्मेवारी सुम्पिएमा संसदीय दलको नेता बन्न आफू पूर्ण रूपमा तयार रहेको उद्घोष गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा सांसद पदको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा आफ्नो नामलाई लिएर भइरहेका चर्चालाई जनताको शुभेच्छाका रूपमा लिँदै त्यसप्रति सम्मान व्यक्त गर्नुभयो । अग्रज अभिभावकहरूको शोकका कारण पार्टीभित्र यसबारे औपचारिक छलफल भइनसकेको भए तापनि भविष्यमा पार्टीले आफूलाई अगाडि बढ्न निर्देशन दिएको खण्डमा ‘खुट्टा नकमाई’ जिम्मेवारी सम्हाल्ने उहाँको दृढताले एमालेभित्र नयाँ पुस्ताको नेतृत्वदायी भूमिकाको खोजीलाई थप बल पुऱ्याएको छ ।

नेम्वाङले आफ्नो राजनीतिक यात्रालाई धैर्यता र अनुशासनका साथ अघि बढाउन चाहेको बताउँदै पार्टीको संस्थागत निर्णय नै सर्वोपरी हुने स्पष्ट पार्नुभयो। प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिटसहित संसद्को तेस्रो शक्तिका रूपमा रहेको एमालेभित्र सुहाङको यो आत्मविश्वासलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

विशेषगरी युवाहरूको प्रतिनिधित्व र संसदीय मोर्चामा नयाँपनको खोजी भइरहेका बेला सुहाङले देखाएको यो तत्परताले एमालेको आगामी संसदीय रणनीति र नेतृत्व चयनमा एउटा नयाँ बहस सिर्जना गरिदिएको छ ।


सम्बन्धित समाचार