१२ चैत,वीरगञ्ज । पूर्वशिक्षा मन्त्री तथा सांसद महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जबाट सञ्चालित कृषि औजार कारखानाबाट स्थापनाकालदेखि अहिलेसम्म झन्डै १७ लाख रुपैयाँ बराबरको कृषि उपकरण बिक्री वितरण गरेको छ।
केन्द्रका वीरगन्ज प्रमुख इन्जिनियर रितेश देवका अनुसार मकै गोड्ने मेसिन ‘रिजर’ ३ सय भन्दा बढी बिक्री भइसकेको छ र यसलाई १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइँदैछ।
त्यस्तै, झारपात सफा गर्ने उपकरण ‘रेक’ ३ सय भन्दा बढी बिक्री भइसकेको छ, जसको मूल्य ७ सय रुपैयाँ राखिएको छ। मकै रोप्ने मेसिन ‘कर्न प्लान्टर’ २ वटा बिक्री भइसकेको छ, मूल्य १५ हजार रुपैयाँ, भने धान रोप्ने मेसिन ‘राइस प्लान्टर’ ७ वटा बिक्री भइसकेको छ, मूल्य २६ हजार रुपैयाँ।
साथै केन्द्रले दुई दर्जनभन्दा बढी प्रकारका हाते उपकरण—जस्तै विडर, खन्ने, जोत्ने—६०–७० हजार रुपैयाँ बराबर बिक्री गरेको जानकारी दिइएको छ। अर्डर अनुसार माछा उत्पादन गर्ने फिस इन्क्युवेटर मेसिन र अक्सिजन एरिएसन मिक्सिङ टावर पनि केन्द्रले उत्पादन गरी बिक्री गरिसकेको छ।


















