Logo

१२ चैत्र, काठमाडौं । नवनिर्वाचित सांसदहरूले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएर संसदीय कार्यकालको औपचारिक आरम्भ गरिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आफ्ना जनप्रतिनिधिहरूलाई रक्षात्मक होइन, आक्रामक बन्न कडा निर्देशन दिनुभएको छ ।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले भर्खरै सम्पन्न निर्वाचनको परिणामलाई ुअस्वाभाविक र अनपेक्षितु को संज्ञा दिनुभयो । उहाँले एमाले कुनै जनविरोधी काम गरेर नभई चौतर्फी कुप्रचार, असत्य र गालीगलौजको राजनीतिले गर्दा खुम्चिनु परेको दाबी गर्दै अब संसद् र सडक दुवै मोर्चामा डटेर मुकाबिला गर्न सांसदहरूलाई ुफिल्डु मा उतार्नुभएको छ ।

शपथ खाएर कार्यभार सम्हालेका सांसदहरूका लागि ओलीको यो निर्देशनले आगामी संसदीय यात्रा निकै संघर्षपूर्ण हुने सङ्केत गरेको छ। विशेषगरी सामाजिक सञ्जालमा एमालेविरुद्ध हुने प्रहारलाई चिर्न तथ्यमा आधारित भएर प्रस्तुत हुन र विरोधीको सभ्य तर कडा शैलीमा प्रतिकार गर्न उहाँले सुझाउनुभयो। पार्टीका नेताहरूले सामाजिक सञ्जालको प्रयोगमा हेलचेक्र्याइँ गरेको र नचाहिने कुरामा अल्झिएको भन्दै ओलीले अबको दिनगन्तीमा प्रविधिको अत्यधिक र प्रभावकारी प्रयोगलाई नै मुख्य हतियार बनाउनुपर्नेमा जोड दिनुभयो । चुनावी नतिजाले एमालेलाई तेस्रो शक्तिमा सीमित गराए पनि संसद्‌मा एमालेको उपस्थिति केवल संख्यामा मात्र नभई एजेन्डा र बहसको नेतृत्वमा देखिनुपर्ने उहाँको आशय थियो ।

सत्ता समीकरणको नयाँ खेल र बालेन शाहको नेतृत्वमा सरकार गठन हुने तयारी भइरहँदा ओलीले आफ्ना सांसदहरूलाई दिएको यो ुबूस्टर डोजु ले आगामी संसद्‌मा एमाले एक ुहाइप्रोफाइलु प्रतिपक्षको भूमिकामा देखिने निश्चित छ । आफूहरूलाई पछाडि पार्न रचिएका प्रपञ्चहरूलाई सदनको रोष्ट्रमबाटै उदाङ्गो पार्न र जनताका माझ सत्य तथ्य पुऱ्याउन ढिला गर्न नहुने ओलीको भनाइ छ ।

शपथको माला सेलाउन नपाउँदै सुरु भएको यो राजनीतिक रस्साकस्सीले अबका दिनमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको सम्बन्ध झन् पेचिलो र टकराबपूर्ण हुने देखिएको छ ।


सम्बन्धित समाचार