१२ चैत्र, काठमाडौं । सिंहदरबारमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोह सकिएलगत्तै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक रोचक तर कडा राजनीतिक टिप्पणी गर्दै नयाँ शक्तिहरूको उदयलाई आफ्नै सफलताको कडीका रूपमा व्याख्या गर्नुभएको छ ।
चुनावी परिणाममा परम्परागत वामपन्थी शक्तिहरू खुम्चिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमतसहित सरकार बनाउने तयारी गरिरहँदा प्रचण्डले ‘गणतन्त्र अन्तर्गत जसले जिते पनि प्रचण्डले नै जितेको हुन्छ’ भन्दै नयाँ सत्ता समीकरणलाई सहजै आत्मसात गर्ने संकेत दिनुभएको हो ।
ञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु र नयाँ शक्तिहरूले जनताको विश्वास पाउनुलाई आफूले कोरेको राजनीतिक मार्गचित्रकै जित भएको दाबी गर्नुभयो ।
शपथ खाएर कार्यभार सम्हालेका नयाँ सांसदहरू र अब बन्ने बालेन शाह नेतृत्वको सरकारलाई बधाई दिँदै प्रचण्डले रचनात्मक र सकारात्मक कामका लागि आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । वामपन्थी दलहरूको पराजय र रास्वपाको अभूतपूर्व जितका बारेमा सोधिएको प्रश्नमा उहाँले रक्षात्मक हुनुको साटो यो परिवर्तनलाई आफ्नै ‘लिगेसी’ का रूपमा अथ्र्याउनुभयो । प्रचण्डको यो भनाइले एकातिर नयाँ सरकारसँग मिलेर जाने लचकता देखाएको छ भने अर्कोतिर नेपालको वर्तमान राजनीतिक प्रणालीको मियो आफैँ रहेको मनोवैज्ञानिक सन्देश दिन खोजेको देखिन्छ ।
अबको केही दिनमै बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी भइरहँदा प्रचण्डको यो ‘जसले जिते पनि मेरो जित’ भन्ने अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस छेडेको छ। शपथको माला सेलाउन नपाउँदै संसद् छिरेका १८२ रास्वपा सांसदहरूका लागि प्रचण्डको यो टिप्पणी एउटा चुनौती र अवसर दुवै हुन सक्छ ।
एकातिर पुराना खेलाडीको यो ‘क्रेडिट लिने’ शैलीले नयाँ शक्तिलाई आफ्नै घेराभित्र राख्न खोजेको देखिन्छ भने अर्कोतिर संसद्मा हुने आगामी दिनगन्ती र शक्ति सन्तुलनमा प्रचण्डको भूमिका अझै पनि निर्णायक नै रहने संकेत यसले गरेको छ ।

















