१३ चैत्र, काठमाडौं । नयाँ निर्वाचनपछि संसद्मा प्रवेश गरेका जनप्रतिनिधिहरूका लागि जिम्मेवारीसँगै विहिबारदेखि राज्यले उपलब्ध गराउने सेवा–सुविधाको औपचारिक ढोका खुलेको छ ।
बिहीबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै रास्वपाका १८२ सांसदसहित सबै माननीयहरूको तलब र भत्ताको गणना सुरु भएको हो । ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ अनुसार अब प्रत्येक सांसदले मासिक ६६ हजार ७० रुपैयाँ आधारभूत तलब प्राप्त गर्नेछन् । यसका अतिरिक्त विशेष भत्ता, बैठक भत्ता र यातायात खर्च जोड्दा एक सांसदले मासिक १ लाख रुपैयाँभन्दा बढीको आर्थिक प्याकेज प्राप्त गर्ने देखिन्छ ।
सुविधाको सूची तलबमा मात्र सीमित छैन । काठमाडौं उपत्यकामा घर नहुने सांसदका लागि मासिक १८ हजार रुपैयाँ आवास भत्ता र घर हुनेका लागि ९ हजार रुपैयाँ मर्मत खर्चको व्यवस्था गरिएको छ । सञ्चार, बिजुली र पानीका लागि मासिक ५ हजार रुपैयाँ छुट्टै उपलब्ध गराइन्छ भने कार्यकालभरिका लागि एकमुष्ट १५ हजार रुपैयाँ फर्निचर खर्च दिने प्रावधान छ ।
संसद् वा समितिको बैठकमा उपस्थित हुँदा प्रतिबैठक १ हजार रुपैयाँ भत्ता र १ हजार रुपैयाँ नै सवारी भाडा पाउने व्यवस्थाले उनीहरूको दैनिक उपस्थितिलाई थप प्रोत्साहित गरेको छ । सांसदहरूको वैदेशिक र भ्रमण सुविधा पनि निकै आकर्षक छ । आधिकारिक कामका लागि देश भित्र भ्रमण गर्दा दैनिक २ हजार ५ सय रुपैयाँ र विदेश भ्रमणमा जाँदा प्रतिदिन २२५ अमेरिकी डलर भत्ताको व्यवस्था छ, जसमा १० लाख रुपैयाँको यात्रा बिमा समेत समावेश हुन्छ। साथै, उनीहरूलाई अन्तर्राष्ट्रिय यात्रामा सहजताका लागि ‘रातो पासपोर्ट’ (कूटनीतिक राहदानी) उपलब्ध गराइन्छ ।
स्वास्थ्य उपचारमा सहुलियत, गम्भीर अवस्था वा मृत्यु भएमा परिवारलाई आर्थिक सहायता जस्ता सामाजिक सुरक्षाका बुँदाहरूले पनि सांसदको पदलाई सुरक्षित बनाएको छ ।

















