१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १५ सदस्यीय मन्त्रिपरिषद्मा मन्त्रीहरूको वरीयताक्रम टुंगो लागेको छ ।
प्रधानमन्त्री शाहपछिको दोस्रो वरीयतामा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले रहेका छन् भने गृहमन्त्री सुधन गुरुङलाई तेस्रो वरीयतामा राखिएको छ । रास्वपा नेतृत्वको यस ऐतिहासिक सरकारमा परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल पाँचौँ वरीयतामा रहेका छन् ।
वरीयताको सूचीअनुसार विराजभक्त श्रेष्ठ (ऊर्जा), खड्कराज पौडेल (पर्यटन), सस्मित पोखरेल (शिक्षा) र निशा मेहता (स्वास्थ्य) क्रमशः छैटौँदेखि नवौँ स्थानमा छन् । सञ्चारमन्त्री विक्रम तिमिल्सिना १० औँ, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ११ औँ र श्रम मन्त्री दीपक साह १२ औँ वरीयतामा छन् ।
मन्त्रिपरिषद्को अन्तिम तीन स्थानमा कानुन मन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी र महिला बालबालिका मन्त्री सीता वादी रहेका छन् । १८२ सिटको बहुमतसहित गठन भएको यो क्याबिनेटले आजै सिंहदरबारमा पहिलो बैठक बसी विशेष कार्ययोजना ल्याउने तयारी गरेको छ ।

















