Logo

१३ चैत,काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका स्वर्णिम वाग्ले ले पदबहालीसँगै महत्वपूर्ण नीतिगत निर्णयहरू गरेका छन्।

शुक्रबार कार्यभार सम्हाल्दै मन्त्री वाग्लेले राजस्व अनुसन्धान विभागसहित १५ वटा ऐन खारेज गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्। साथै, १३ चैतसम्मको समग्र आर्थिक अवस्थाको मूल्याङ्कन गर्न ‘ह्वाइटपेपर’ (आर्थिक स्थितिपत्र) तयार पार्न पनि अर्को कार्यदल गठन गर्ने घोषणा गरेका छन्।

उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसलाई आधार मानेर पुराना तथा अव्यवहारिक कानुनहरू खारेज वा संशोधन गर्ने प्रक्रिया अघि बढाइनेछ। “राज्यले स्वीकार गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न ठोस योजना आवश्यक छ, त्यसका लागि कार्यदल गठन गरिएको हो,” वाग्लेले बताए।

अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्दै उनले आगामी दिनमा बजेट निर्माण, निजी क्षेत्रको सुरक्षा, लगानी प्रवर्द्धन र ठूला आयोजनालाई तीव्रता दिने विषयमा केन्द्रित हुने स्पष्ट पारे।

हाल अर्थतन्त्रमा केही शिथिलता देखिए पनि सकारात्मक संकेतहरू रहेको उनको भनाइ छ। “राजस्व संकलन चुनौतीपूर्ण छ, तर बैंक निक्षेप बढेको छ। अब आन्तरिक आर्थिक सुस्ती हटाउँदै रूपान्तरणकारी बजेट ल्याउनेतर्फ हामी अघि बढ्छौं,” उनले भने।

वाग्लेले प्रणालीगत समस्याहरू समाधान नगरी अर्थतन्त्र चलायमान हुन नसक्ने उल्लेख गर्दै सुधारका लागि समय लाग्ने बताए। “अब टुक्रे काम होइन, समग्र प्रणाली सुधारमा जानुपर्छ। जनताले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्नेछौं,” उनले सञ्चारकर्मीसँग भने।

उनले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट थप महत्त्वपूर्ण निर्णयहरू आउने संकेत समेत दिएका छन्।


सम्बन्धित समाचार