१३ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणलगत्तै गृह प्रशासनमा आमूल परिवर्तनको संकेत दिँदै ‘एकद्वार प्रणाली’ बाट कार्यसम्पादन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेका गुरुङले भीआईपी लावालस्करका नाममा सडक ठप्प पारेर जनतालाई सास्ती दिने परम्पराको अन्त्य गरिने घोषणा गरे । जेन–जीको चाहना र सुशासनको एजेन्डासहित सरकारमा आएको उल्लेख गर्दै उनले अबको गृह प्रशासन गफमा नभई नतिजामा केन्द्रित हुने स्पष्ट पारेका छन् ।
मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री गुरुङले सेवा प्रवाहमा कुनै पनि गुनासो आए सह्य नहुने चेतावनी दिए । उनले सुशासन कायम गर्न र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउन आफू ुकम बोल्ने र बढी काम गर्नेु शैलीमा उत्रिने बताए ।
१८२ सिटको बलियो जनमतसहित बनेको बालेन सरकारका तेस्रो वरीयताका यी मन्त्रीको पहिलो निर्णयले गृह प्रशासनमा नयाँ रक्तसञ्चार हुने र सुरक्षा संयन्त्रलाई जनमुखी बनाउने अपेक्षा गरिएको छ ।

















