Logo

 १४ चैत,काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि चार महत्वपूर्ण निर्णय गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले ओलीको तत्काल रिहाइको माग गर्दै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। पार्टीका अनुसार उक्त कदमलाई राजनीतिक रूपमा प्रतिरोध गरिनेछ।

एमाले नेता महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार बैठकले आजै देशभरका जिल्ला सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

यस्तै, भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

साथै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दल, नागरिक समाज तथा आम जनसमुदायसँग संवाद र सहकार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ।

एमालेले आफ्ना अध्यक्षको पक्राउलाई गम्भीर राजनीतिक विषयका रूपमा लिँदै आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएको छ।


सम्बन्धित समाचार