१४ चैत,काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी हेडक्वार्टरलाई पठाएको आदेश पत्र सार्वजनिक भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेलगत्तै गृह मन्त्रालयले पत्र तयार गरी प्रहरी हेडक्वार्टर मार्फत सम्बन्धित जिल्लामा आदेश पठाएको थियो। पत्रमा भदौ २३ र २४ गतेका प्रदर्शनका घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न दुई बुँदे निर्देशन दिइएको उल्लेख छ।
पत्रमा भनिएको छ, “संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने।”
गृह मन्त्रालयले मन्त्री सुधन गुरुङ को निर्णयसहित मन्त्रिपरिषद्को निर्णय प्रहरी प्रधान कार्यालयमा पठाएको थियो। पत्रसँगै आयोगको प्रतिवेदन पनि संलग्न गरिएको थियो।
हेडक्वार्टरलाई पठाइएको पत्रमा भनिएको छ, “नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको उल्लिखित निर्णयको कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगको सिफारिस कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनका लागि मन्त्रिपरिषद्बाट प्राप्त आयोगको प्रतिवेदन यसैसाथ संलग्न राखी पठाइएको व्यहोरा मिति २०८२ चैत १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार अनुरोध छ।”


















