१४ चैत,वीरगञ्ज । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा वीरगञ्जमा कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।
पर्साको सदरमुकाम वीरगञ्जस्थित मुख्य घण्टाघर चोकमा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्का नाराजुलुस गर्दै ओलीको तत्काल रिहाइको माग गरेका छन्। ‘राजनीतिक प्रतिशोध बन्द गर’ र ‘अध्यक्ष ओलीलाई विना सर्त रिहा गर’ जस्ता नारासहित प्रदर्शन गरिएको थियो।
विरोध कार्यक्रममा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वमबर शर्मा, नेता बिचारी यादव, जालिम मिया, लियाकत अली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले सरकारले विपक्षी नेतामाथि पूर्वाग्रहपूर्ण ढंगले दमन गरेको आरोप लगाउँदै लोकतान्त्रिक मूल्य–मान्यतामाथि आक्रमण भएको बताएका छन्। साथै, आवश्यक परे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।
शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओली पक्राउ परेपछि देशभर एमालेले विरोध कार्यक्रम तीव्र बनाउँदै आएको छ।