१५ फाल्गुण, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारको सम्पत्तिमाथि सरकारले कडा निगरानीका साथ अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
सत्ताको दुरुपयोग गरी अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, उनकी पत्नी आरजु राणा र छोरा जयवीर देउवासहित नजिकका नातेदारहरूको आर्थिक कारोबारको विस्तृत विवरण संकलन सुरु गरेको हो । विशेषगरी पछिल्लो डेढ वर्षमा जयवीर र उनका आफन्तका नाममा किनिएको करिब ७३ रोपनी जग्गा तथा प्रदीपशमशेर जबरा र भूषण राणा लगायतसँग भएका शंकास्पद वित्तीय कारोबारहरू अहिले अनुसन्धानको मुख्य घेरामा परेका छन् ।
यसै सिलसिलामा प्रमाण नष्ट हुन सक्ने आशंका गर्दै प्रहरीले बूढानीलकण्ठस्थित देउवा निवासको क्षतिग्रस्त भवन भत्काउने कार्यमा समेत रोक लगाएको छ। ‘जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त निवास परिसरमा रहेका दुईवटा बंगलाहरूमध्ये एउटा भत्काउन कामदार परिचालन गरिएको अवस्थामा उच्चाधिकारीको निर्देशनपछि रोक लगाइएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकमको बिलिङ अनियमितता जस्ता गम्भीर भ्रष्टाचारका मुद्दाहरूमा देउवा परिवारको संलग्नताबारे परेका उजुरीहरूको सूक्ष्म अध्ययन भइरहेकाले यो अनुसन्धानलाई निकै चासोका साथ हेरिएको छ ।

















