१५ चैत, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसाको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।
आइतबार अदालतमा उपस्थित गराइएका दुवै नेताका विरुद्ध जरुरी पक्राउ पुर्जीको समर्थन र म्याद थपका लागि छुट्टाछुट्टै निवेदन दर्ता भएपछि अहिले न्यायाधीशको इजलासमा यस विषयमा गम्भीर बहस भइरहेको छ । सरकारी वकिलहरूले आन्दोलनका क्रममा भएको ठूलो मानवीय क्षति र भौतिक विनाशको अनुसन्धानका लागि पर्याप्त समय आवश्यक रहेको तर्क अघि सारेका छन् ।
अर्कोतर्फ, ओली र लेखकका तर्फबाट बहस गरिरहेका कानुन व्यवसायीहरूले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कुनै कानुनी आधार नभएको भन्दै तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा भएको दमनको मुख्य जिम्मेवार तत्कालीन सरकारको नेतृत्वमा रहेका ओली र लेखक नै भएको जाँचबुझ आयोगको ठहर छ ।
सोही फौजदारी अभियोगको अनुसन्धानलाई पूर्णता दिन प्रहरीले उनीहरूलाई हिरासतमा राख्नुपर्ने अडान लिएको हो । अहिले अदालत परिसरमा दुवै पक्षबीच भइरहेको यो कानुनी प्रतिवाद र सडकमा भइरहेको प्रदर्शनले राजनीतिक वातावरण निकै गर्माएको छ ।

















