१५ चैत, काठमाडौं । मुलुकका तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिमाथि राज्यका शक्तिशाली निकायहरूले गम्भीर छानबिन प्रक्रिया अघि बढाएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई औपचारिक पत्राचार गरेसँगै यी शीर्ष नेताहरूको आर्थिक स्रोत र आर्जित सम्पत्तिको वैधतामाथि अनुसन्धान सुरु भएको हो ।
यही सिलसिलामा आइतबार मात्रै पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणकै अभियोगमा बुढानीलकण्ठबाट नियन्त्रणमा लिइएको छ, जसलाई सीआईबीले विभागको निर्देशनअनुसार गरिएको प्रारम्भिक ुएक्सनु का रूपमा पुष्टि गरेको छ ।
विशेषगरी जेनजी आन्दोलनका क्रममा देउवा निवासमा शंकास्पद रकम भेटिएको विषय सार्वजनिक भएपछि विभागले यसअघि नै घटनास्थल मुचुल्का उठाएको थियो । सोही क्रममा ओली र प्रचण्डकी छोरी गङ्गा दाहालको निवासमा समेत पुगेर टोलीले प्रमाण संकलन गरेको थियो ।
अहिले गृह स्रोतका अनुसार ती प्रमाणहरूलाई आधार मान्दै सीआईबीले अनुसन्धानको दायरालाई थप फराकिलो बनाएको छ ।
मुलुकका शीर्ष नेतृत्व नै सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर फौजदारी अनुसन्धानको घेरामा परेपछि यसले नेपाली राजनीतिमा ठूलो हलचल ल्याइदिएको छ ।

















