Logo

१५ चैत, काठमाडौं । ‘जेनजी’ आन्दोलन दमनको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ हुने भएको छ ।

आइतबार ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले आफ्ना पतिहरूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुवै रिट दर्ता भइसकेका छन् र अदालतले भोलिका लागि सुनुवाइको पेसी तोकेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई आधार मान्दै सरकारले शनिबार दुवै नेतालाई पक्राउ गरेको थियो ।

तर, रिट निवेदनमा आयोगको प्रतिवेदन वा सिफारिसकै आधारमा विना कुनै ठोस कानुनी प्रक्रिया पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य(मान्यता र कानुनी शासनको विरुद्ध रहेको जिकिर गरिएको छ । सर्वोच्च अदालतले भोलि गर्ने प्रारम्भिक सुनुवाइ र दिने आदेशलाई लिएर अहिले राजनीतिक तथा कानुनी वृत्तमा निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार