Logo

१६ चैत, काठमाडौँ । सम्पत्ति शुद्धीकरणको गम्भीर अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्काको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका खड्कालाई हिरासतमा रहँदा स्वास्थ्यमा जटिलता देखिएपछि उपचारका लागि अस्पताल लगिएको विभागका अधिकारीहरूले पुष्टि गरेका छन् । अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएका खड्कालाई गएराति करिब साढे १२ बजेदेखि निरन्तर बान्ता हुने समस्या देखिएको थियो ।

हिरासतमा स्वास्थ्य बिग्रिएपछि उनलाई तत्कालै नर्भिक अस्पताल पुर्‍याइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकहरूको सल्लाह र अनुसन्धान अधिकृतहरूको समन्वयमा त्रिवि शिक्षण अस्पताल रिफर गरिएको हो। हाल उनलाई शिक्षण अस्पतालकै विशेष निगरानीमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ ।

विभागले खड्काविरुद्ध अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको र त्यसलाई वैध बनाउन खोजेको दाबीसहित गहिरो अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय जेन–जी आन्दोलन र अन्य भ्रष्टाचारका मुद्दाहरूमा ठुला राजनीतिक व्यक्तित्वहरू धमाधम कानुनी घेरामा तानिने क्रम चलिरहँदा पूर्वमन्त्री खड्काको यो पक्राउ र स्वास्थ्य समस्यालाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन् ।

अनुसन्धानकै क्रममा रहेका बेला अस्पताल भर्ना भएपछि विभागले उनको स्वास्थ्य अवस्था सामान्य हुनेबित्तिकै पुनः बयान र अनुसन्धानको प्रक्रियालाई निरन्तरता दिने तयारी गरेको छ ।


सम्बन्धित समाचार