१६ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको बहुप्रतिक्षित राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज सर्वोच्च अदालतको पेसी सूचीमा चढेको छ ।
लामिछानेले अमेरिकी र नेपाली दुवै राहदानी एकैसाथ प्रयोग गरेर कानुनको उल्लंघन गरेको दाबीसहित परेको रिटमाथि सुनुवाइ गर्न न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलास तोकिएको छ । यसअघि लगातार चार पटकसम्म ‘हेर्न नभ्याइने’ सूचीमा पर्दै आएको यो मुद्दा आज १२ औँ नम्बरमा रहेकाले यसले न्यायिक किनारा पाउने वा प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
यो विवादको मुख्य चुरो तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा चलाउनु नपर्ने भनी गरेको निर्णयसँग जोडिएको छ । उक्त निर्णय बदर गरी लामिछानेमाथि कानुनी कारबाही अगाडि बढाउन माग गर्दै युवराज पौडेल ‘सफल’ ले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले महान्यायाधिवक्ता कार्यालयको निर्णय स्वैच्छाचारी र कानुनको मर्मविपरीत रहेको जिकिर गर्दै आएका छन् ।
सर्वोच्च अदालतले यसअघि नै यो मुद्दामा गम्भीरता देखाउँदै महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णयको सक्कल फाइल मगाउने आदेश दिइसकेको थियो । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले ‘कारण देखाऊ आदेश’ जारी गरेपछि प्राप्त भएका प्रमाण र कागजातका आधारमा आज दुवै पक्षबीच बहस हुनेछ ।
निर्वाचनमा रास्वपाले ऐतिहासिक सफलता प्राप्त गरी सत्ताको नेतृत्व गरिरहेका बेला पार्टी सभापतिमाथि लागेको यो कानुनी चुनौतीलाई राजनीतिक र न्यायिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

















