१६ चैत, काठमाडौँ । नयाँ सरकार गठनसँगै उत्साहको अपेक्षा गरिएको नेपाली सेयर बजारमा सुरुवाती दुई दिनमै ठुलो गिरावट देखिएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव ७१ अंकले ओरालो लागेर २८३१ अंकमा सीमित भएको छ । अघिल्लो दिन आइतबार मात्रै ७१ अंकको गिरावट व्यहोरेको बजारले दुई दिनको अवधिमा कुल ११९ अंक गुमाएको हो । नयाँ सरकार बन्नुअघि २ हजार ९५० अंकको उचाइमा रहेको नेप्सेमा देखिएको यो तीव्र गिरावटले लगानीकर्ताहरूमाझ केही हदसम्म अन्योल र चिन्ता थपिदिएको छ ।
सोमबारको कारोबार सुरु हुँदा बजार केही समय सम्हालिएको देखिए पनि मध्यान्तरपछि भने तीव्र गतिमा ओरालो लाग्न थाल्यो । बजार परिसूचकसँगै कारोबार रकममा पनि संकुचन देखिएको छस आइतबार १५ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार त्यो घटेर १२ अर्ब ९६ करोड रुपैयाँमा झरेको छ ।
बजारमा सूचीकृत कुल कम्पनीमध्ये २३७ वटाको मूल्य घट्दा जम्मा २६ वटा कम्पनीले मात्र हरियो संकेत देखाउन सफल भए। यसले समग्र बजारको मनोबल कमजोर रहेको र लगानीकर्ताहरू ‘पर्ख र हेर’ को स्थितिमा रहेको सङ्केत गर्दछ ।
समूहगत आधारमा हेर्दा बजारका सबै उप–सूचकहरू राताम्मे देखिएका छन् । विशेषगरी व्यापार समूहमा सबैभन्दा धेरै २।५६ प्रतिशतको गिरावट आउँदा बैंकिङ, फाइनान्स, हाइड्रोपावर र अन्य समूहहरू पनि २ प्रतिशत हाराहारीले घटेका छन् ।
यद्यपि, यस्तो प्रतिकूल अवस्थामा पनि रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर र होटल फरेस्ट इनसहित ६ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । अर्कोतर्फ सोलु हाइड्रोपावर र केही लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । बजारमा रिडी पावर र ङादी ग्रुप जस्ता ऊर्जा कम्पनीहरूको कारोबारमा उच्च सक्रियता देखिए पनि समग्र बजारलाई थाम्न पर्याप्त भएन ।

















