१६ चैत, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० राजकुमार अर्याल धितोपत्र सम्बन्धी ऐन विपरीतको कसुर गरेको अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अर्याललाई सोमबार काठमाडौंको पुतलीसडकबाट नियन्त्रणमा लिएको हो।
५१ वर्षीय अर्यालमाथि इन्स्योरेन्सले कर्मचारीका लागि छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा व्यापक अनियमितता र कागजात कीर्ते गरेको आरोप छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ र सीआईबीको डेढ वर्ष लामो अनुसन्धानपछि उनलाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार कम्पनीले कुल आईपीओको निश्चित प्रतिशत कर्मचारीका लागि सुरक्षित गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाको फाइदा उठाउँदै अर्यालले कर्मचारीका लागि आरक्षित कुल सेयरमध्ये करिब ८० प्रतिशत हिस्सा आफ्नै नाममा पारेको सीआईबीको दाबी छ। कर्मचारीहरूले आफ्नो हकको सेयर सिइओले आफ्नै हात जगन्नाथ गरेको भन्दै उजुरी दिएपछि नियामक निकायले यसमा अनुसन्धान सुरु गरेको थियो।
क्याल समूहको लगानी र व्यवस्थापकीय बेथिति
वीरगञ्जको प्रतिष्ठित व्यापारिक घराना क्याल समूहु को मुख्य लगानी रहेको सन नेपाल लाइफ इन्स्योरेन्समा लामो समयदेखि बेथिति हुँदै आएको स्रोतको दाबी छ। हाल यो कम्पनीको अध्यक्षमा क्याल समूहका मुख्य व्यक्ति सत्यनारायण क्यालका छोरा अनुज क्याल रहेका छन्। सिइओ अर्यालको पक्राउसँगै कम्पनीमा भएको लगानीको स्रोतका बारेमा समेत गम्भीर प्रश्न उठेको छ।
स्रोतका अनुसार क्याल समूहले यस कम्पनीमा गरेको लगानीमा समेत यसको स्रोतलाई लिएर सम्बन्धित निकायहरूले छानबिन गर्न सक्ने सम्भावना बढेको छ। कम्पनीभित्रको आन्तरिक सुशासन कमजोर हुनु र उच्च व्यवस्थापनले कर्मचारीको हक अधिकारमाथि धाबा बोल्नुले कम्पनीको विश्वसनीयतामाथि नै संकट पैदा गरेको छ।
राजनीतिक संरक्षण र नियामकको निर्देशन अटेर
यसअघि नियामक निकाय धितोपत्र बोर्डले सेयर वितरण पारदर्शी नदेखिएको भन्दै सञ्चालक समितिलाई पुनः वितरणको निर्देशन दिएको थियो। तर, कम्पनीले उक्त निर्देशनलाई पूर्ण रूपमा अटेर गर्दै आएको थियो। सन नेपाल लाइफका मुख्य लगानीकर्ता सत्यनारायण क्यालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुमधुर सम्बन्ध रहेका कारण कम्पनीका कमजोरीमाथि यसअघि कुनै प्रभावकारी छानबिन हुन नसकेको स्रोतको भनाइ छ। राजनीतिक संरक्षणकै आडमा कम्पनीले नियामकका निर्देशनहरूलाई उपेक्षा गर्दै आएको आरोप समेत लागेको छ।
सीआईबी प्रमुख मनोज केसीका अनुसार अर्यालले सेयर बाँडफाँटको क्रममा फरक–फरक निकायमा पेश गरेको विवरणमा ठूलो भिन्नता देखिएको छ। नियामक निकायले माग गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सोको प्रतिलिपिहरूमा विवरण फरक–फरक भेटिएको छ, केसीले भने, यो धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीतको कसुर हो। अर्यालले यसअघि बयानका क्रममा गल्ती स्वीकार गरे पनि सुधार नगरेको प्रहरीको भनाइ छ।
गुल्मी दरबार गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको वनस्थली बस्दै आएका अर्यालमाथि अहिले थप कानूनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको छ। कर्मचारीको हक हिनामिना, कागजात कीर्ते र लगानीको स्रोत सम्बन्धी यो बहुआयामिक मुद्दाले बीमा र पुँजी बजार क्षेत्रमा ठूलो तरंग पैदा गरेको छ।


















