१७ चैत, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, तौलिहवा शाखामा कार्यरत एक कर्मचारीले बैंकिङ प्रणालीको चरम दुरुपयोग गर्दै ग्राहकको १ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम अनधिकृत रूपमा गायब पारेका छन् ।
सुरक्षाको जिम्मा पाएका कर्मचारी नै ‘डिजिटल डकैत’ बनेर निस्किएपछि वित्तीय क्षेत्रको आन्तरिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ । पक्राउ पर्नेमा बैंकका कर्मचारी रिशभ कार्की रहेका छन्, जसले कुनै बाहिरी ह्याकरले भन्दा खतरनाक शैलीमा बैंकको आन्तरिक प्रणालीभित्रै पसेर ठूलो रकम हिनामिना गरेका हुन् ।
कार्कीले बैंकको आन्तरिक प्रणालीमा अवैध पहुँच बनाएर लक्षित ग्राहकहरूको मोबाइल नम्बर सुटुक्क परिवर्तन गरिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मोबाइल नम्बर परिवर्तन गरेपछि बैंकबाट रकम काटिँदा आउने ‘ट्रान्ज्याक्सन अलर्ट’ (एसएमएस) वास्तविक ग्राहकको मोबाइलमा जान रोकिएको थियो। त्यसपछि उनले आफ्नै मोबाइल नम्बर प्रयोग गरी मोबाइल बैंकिङ र कनेक्ट आईपीएस मार्फत १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा विभिन्न खातामा ट्रान्सफर गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय पकडीको टोलीले कार्कीलाई सोमबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका कार्कीमाथि बैंकिङ कसुरमा अनुसन्धान गर्न उच्च अदालत तुलसीपुरबाट ७ दिनको म्याद थप गरिएको छ ।

















