Logo

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच सोमबार प्रधानमन्त्री कार्यालयमा विशेष भेटवार्ता भएको छ ।

नयाँ सरकार गठनपछिको यो पहिलो औपचारिक शिष्टाचार भेट भए पनि यसले मुलुकको वर्तमान आर्थिक र वित्तीय अवस्थाबारे गम्भीर विमर्श गरेको छ । भेटका क्रममा प्रधानमन्त्री बालेनले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका समस्या, रेमिट्यान्सको प्रवाह र बाह्य क्षेत्रको सन्तुलनका विषयमा चासो राख्नुभएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

छलफलका क्रममा गभर्नर पौडेलले राष्ट्र बैंकले सम्पादन गर्नुपर्ने कार्यहरूमा आइपरेका कानुनी तथा व्यावहारिक जटिलता र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो । विशेषगरी मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई व्यवस्थित गर्ने र वित्तीय स्थायित्व कायम गर्ने विषयमा प्रधानमन्त्रीले सूक्ष्म जानकारी लिनुभएको गभर्नरको सचिवालयले उल्लेख गरेको छ ।

भेटको अर्को महत्त्वपूर्ण एजेन्डा रिक्त डेपुटी गभर्नरको नियुक्ति रहेको थियो । राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त भएको करिब एक महिना बितिसक्दा पनि नियुक्ति हुन नसकेको भन्दै गभर्नर पौडेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यसम्पादनमा सहजताका लागि छिटो नियुक्ति गरिदिन आग्रह गरे तापनि प्रधानमन्त्री बालेनले भने उक्त प्रशासनिक नियुक्तिको विषयमा तत्कालै खासै चासो नदेखाएको बुझिएको छ ।

हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशकमध्येबाटै ४ जनाको नाम सिफारिस भई २ जना नियुक्त हुने संवैधानिक व्यवस्था छ, जसको प्रतीक्षा अहिले वित्तीय वृत्तले गरिरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै