१७ चैत,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले भोग्दै आएका झन्झट र प्रशासनिक जटिलता हटाउन नवनिर्वाचित सांसदहरूले सक्रिय चासो देखाएका छन्। पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त र क्षेत्र नम्बर २ का सांसद सुशील साह कानु संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय पुगेर अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा सांसदद्वयले सेवा लिन आएका सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका थिए। सेवाग्राहीहरूले एउटै फाइलमा ‘तोक’ लगाउन र स्वीकृत गराउन विभिन्न कोठा धाउनुपर्ने, साना कामका लागि समेत घण्टौँ कुर्नुपर्ने तथा प्रक्रिया अत्यन्त झन्झटिलो रहेको गुनासो गरेका थिए।
त्यसपछि सांसदद्वयले प्रमुख जिल्ला अधिकारी भोलादाहालसँग भेट गरी सेवा प्रवाह सुधारका उपायबारे छलफल गरे। भेटमा प्रजिअ दाहालले कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र सरल बनाउने प्रयास भइरहेको जानकारी दिए। उनले कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै बिचौलियामुक्त सेवा सुनिश्चित गर्न ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी भइरहेको पनि बताए।
सांसद पन्त र साहले सरकारी कार्यालयमा जनताले दुःख पाउनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको टिप्पणी गर्दै सेवा सहज र सम्मानजनक बनाउनुपर्नेमा जोड दिए। उनीहरूले प्रजिअले अघि सारेका सुधारका पहलहरूले सेवाग्राहीको समय बचत हुने र जनअपेक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्।

















