Logo

१७ चैत, काठमाडौँ । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा सरकारविरुद्ध देशव्यापी आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने निर्णय गरेको छ ।

मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले वडा र पालिका तहदेखि प्रदेश हुँदै केन्द्रसम्मै विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै महासचिव शंकर पोखरेलले सरकारको यो कदम राजनीतिक प्रतिशोधपूर्ण रहेको भन्दै यसको सशक्त प्रतिकार गरिने बताउनुभयो ।

पार्टीको घोषित आन्दोलनको कार्यतालिका अनुसार आगामी चैत २४ गते देशका सबै जिल्ला कमिटीहरूले बृहत् कार्यकर्ता भेलाको आयोजना गरी आन्दोलनको राँको बाल्नेछन् । जिल्ला तहको आन्दोलन र दबाबपछि एमालेले वैशाख १२ गते राजधानी काठमाडौँमा विशाल विरोध प्रदर्शन र जनसभा गर्ने तयारी गरेको छ ।

महासचिव पोखरेलले यो प्रदर्शन सरकारको स्वेच्छाचारी कदमविरुद्ध जनताको सामूहिक आवाज हुने दाबी गर्दै काठमाडौँको सडकबाटै सत्तालाई गम्भीर चेतावनी दिने रणनीति पार्टीले तय गरेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीको पक्राउपछि एमालेभित्र तीव्र असन्तोष र आक्रोश देखिएको छ। पार्टीले आफ्ना कार्यकर्ताहरूलाई गाउँ-गाउँबाट उठ्न निर्देशन दिँदै स्थानीय तहदेखि नै विरोधका स्वरहरू घन्काउन आह्वान गरेको छ ।

पछिल्लो राजनीतिक समीकरण र एमालेको यो आन्दोलनको घोषणाले मुलुकको राजनीति थप मुठभेडतर्फ जाने संकेत देखिएको छ । वैशाख १२ को प्रदर्शनलाई एमालेले आफ्नो शक्ति प्रदर्शनको रूपमा लिएको छ, जसले वर्तमान राजनीतिक कोर्षलाई नै बदल्न सक्ने आकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

यस्तै, नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय प्रतिनिधि सभा बैठकमा राख्ने भएको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार