Logo

१७ चैत, काठमाडौँ । नक्कली अनुभवको प्रमाणपत्र पेस गरेर सरकारी निकायको उच्च ओहोदामा पुगी झण्डै एक दशकसम्म राज्यको ढुकुटी दोहन गर्ने राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सचिव राजेश पोख्रेलको कर्तुत सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोख्रेलले झुटो विवरणका आधारमा नियुक्ति लिएको र करोडौँको सुविधा उपभोग गरेको पुष्टि गर्दै मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०७३ सालदेखि सुरु भएको उनको यो नक्कली यात्रा अख्तियारको सूक्ष्म अनुसन्धानपछि करिब ९ वर्षमा आएर टुङ्गिएको छ ।

अनुसन्धानका क्रममा पोख्रेलले कम्पनी सचिव पद हत्याउनका लागि गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडमा ‘वरिष्ठ अधिकृत’ का रूपमा काम गरेको नक्कली अनुभव पत्र तयार पारेको खुलेको छ । अचम्मको कुरा त के छ भने, सम्बन्धित हाइड्रोपावर कम्पनीले पोख्रेल आफ्नो कार्यालयमा कहिल्यै कार्यरत नरहेको र उनले पेस गरेको प्रमाणपत्रको कुनै आधिकारिक रेकर्ड नै नभएको जानकारी अख्तियारलाई दिएको थियो । सोही झुटो कागजातका आधारमा उनले २०७३ फागुन १० गतेदेखि सेवा करारमा नियुक्ति पाएर सरकारी सेवामा प्रवेश गरेका थिए ।

९ वर्षको अवधिमा पोख्रेलले राज्य कोषबाट तलब, भत्ता र अन्य सेवा सुविधामार्फत कुल १ करोड ७ लाख १ हजार ५ सय ८४ रुपैयाँ बराबरको प्रत्यक्ष लाभ लिएको अख्तियारको दाबी छ । सार्वजनिक निकायको जिम्मेवार पद पाउन जानाजानी नक्कली कागजात पेस गरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले उनलाई कडा कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। यो घटनाले सरकारी नियुक्ति प्रक्रियामा हुने डकुमेन्ट भेरिफिकेसनको फितलोपनलाई समेत उदाङ्गो पारेको छ।


सम्बन्धित समाचार