Logo

१७ चैत,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा हावाहुरी, मेघगर्जन/चट्याङ तथा असिनासहित वर्षा हुने प्रणाली सक्रिय रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षा भएको छ। कालीकोट, प्यूठान, पर्वत, बागलुङ, कास्की, लमजुङ, म्याग्दी, तनहुँ, पाल्पा, मनाङलगायत क्षेत्रमा हावाहुरीसहित मध्यम वर्षा तथा उच्च भूभागमा हिमपातसमेत भएको जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकासहित आसपासका जिल्ला, गोरखा, दोलखा तथा पूर्वका केही जिल्लामा पनि वर्षा भएको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै तनहुँमा झन्डै २० मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानसहित देशका अन्य क्षेत्रमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्णरूपमा सुधार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ। भोलि र पर्सिसमेत केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा मौसमी जानकारी लिँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार