१८ चैत, काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा पक्राउ परी कारागारमा रहेका व्यक्तिहरूलाई छुटाइदिने प्रलोभन देखाएर रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९, मण्डिखाटार बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर र ३७ वर्षीया अनिता थापामगर (मिठु मगर) रहेका छन्।
प्रहरीका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका तीन जना प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै उनीहरूले रकम असुलेका थिए । पक्राउ परेका व्यक्तिहरूले ‘सर्वोच्च अदालतका न्यायाधीशसँग आफ्नो राम्रो चिनजान छ’ भनी पीडित परिवारलाई विश्वासमा पारेका थिए ।
अनुसन्धानका क्रममा उनीहरूले भनसुन गरेर बन्दीलाई बाहिर ल्याइदिने आश्वासन दिँदै ९ लाख रुपैयाँ लिएर ठगी गरेको खुलेको छ । रकम लिए पनि बन्दीहरू नछुटेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । पछिल्लो समय राजनीतिक आन्दोलन र अदालती प्रक्रियाको नाममा बिचौलियाहरूले ठगी गर्ने क्रम बढेकाले सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

















