Logo

१८ चैत,काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थलमा आज आयोजित विक्रम बाबा मेलामा सहभागी हुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम पुगेकी छन्।

चितवन जिल्ला क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे चर्चा गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले आफू विक्रम बाबा पूजा स्थल पुग्न पाएकोमा खुशी व्यक्त गर्दै विक्रम बाबा मेला समयसँगै सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकास हुँदै गएको बताइन्।

उनले सालको रुखको फेदमा पूजा अर्चना गर्दै रुख, वन र नदीजस्ता प्राकृतिक स्रोतहरू मानव अस्तित्वका आधार भएको उल्लेख गरिन्। प्रकृति पूज्ने परम्पराले संरक्षणको भावना अभिवृद्धि गर्ने उनको भनाइ छ।

‘आज सालको रूखको फेदमा पूजा गरेँ। रुख, वन र नदी हाम्रा प्राकृतिक स्रोतसँगै हाम्रो अस्तित्वका आधार पनि हुन्,’ उनले लेखेकी छन्, ‘प्रकृति पूज्ने परम्पराले प्रकृति जगेर्नाको भाव प्रवर्द्धन गर्छ।’

मन्त्री गौतमले विक्रम बाबाको आशीर्वादले समग्र जनताको कल्याण, देशको समृद्धि तथा नेपालीहरूको हित हुने विश्वास व्यक्त गरेकी छन्।


सम्बन्धित समाचार