Logo

१८ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले भोलिदेखि सुरु हुने नयाँ संसद् अधिवेशनको पूर्वसन्ध्यामा सर्वदलीय छलफललाई तीव्रता दिएको छ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी यस बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका प्रतिनिधि र सरकारका अधिकारीहरू सहभागी छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि आह्वान गरिएको यो पहिलो औपचारिक सर्वदलीय बैठक हो ।

यसले मुख्यगरी १९ चैत दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची, बैठक सञ्चालनको मोडालिटी र सभामुख चयनको प्रक्रियाका विषयमा ठोस खाका तयार पार्ने अपेक्षा गरिएको छ ।

यस पटकको प्रतिनिधिसभाको बनोट विगतको तुलनामा निकै फरक र रोचक देखिएको छ । निर्वाचनको अन्तिम नतिजा अनुसार २७५ सदस्यीय सदनमा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ ।

३८ सिटसहित नेपाली कांग्रेस दोस्रो र २५ सिटसहित नेकपा एमाले तेस्रो शक्तिका रूपमा रहेका छन्। त्यस्तै, १७ सिट जितेर नेपाली कम्युनिष्ट पार्टी चौथो शक्ति बनेको छ भने पहिलोपटक चुनावी मैदानमा उत्रिएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ ठूलो दल बन्न सफल भएको छ । ५ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौँ स्थानमा छ भने सदनमा एक जना स्वतन्त्र सांसद (महावीर पुन) को पनि प्रतिनिधित्व रहेको छ ।

जारी सर्वदलीय बैठकमा नयाँ संसद्को पहिलो बैठकमा शीर्ष नेताहरूले गर्ने सम्बोधन र सभामुख निर्वाचनको कार्यतालिकाबारे पनि छलफल भइरहेको छ। संसद् सचिवालयले सबै दलहरूको सहमतिमा सदनलाई मर्यादित र प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रयास गरिरहेको छ ।

विशेषगरी नयाँ शक्तिहरूको उदय र परम्परागत दलहरूको उपस्थितिबीचको सन्तुलन कसरी मिलाउने भन्ने विषय संसद् सचिवालयका लागि महत्वपूर्ण चुनौती बनेको छ ।

भोलिको बैठकमा दलका नेताहरूले शुभकामना दिने अभ्यास रहेकाले त्यसको समय व्यवस्थापन र बैठकको गरिमा कायम राख्ने विषयमा पनि यस बैठकले अन्तिम निर्णय लिनेछ ।


सम्बन्धित समाचार