Logo

१८ चैत,वीरगञ्ज । वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने सवारीसाधन तथा यसका पार्टपुर्जाको आयातमा चालु आर्थिक वर्षको सात महिनामा उल्लेख्य वृद्धि भएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा कुल २३ अर्ब ५७ करोड रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा भित्रिएका छन्।

यो तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै उत्साहजनक देखिएको छ। गत वर्ष सात महिनामा १७ अर्ब १५ करोड रुपैयाँ बराबरको आयात भएकोमा यस वर्ष ६ अर्ब ४२ करोड रुपैयाँले वृद्धि भएको हो।

आयात बढेसँगै राज्यको ढुकुटीमा जम्मा हुने राजस्वमा पनि सुधार देखिएको छ। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार यस वर्षको माघ मसान्तसम्ममा सवारीसाधन र पार्टपुर्जाको आयातबाट मात्रै १६ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जबकि गत वर्ष सोही अवधिमा १३ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

यद्यपि, इन्धनबाट चल्ने निजी सवारीसाधन (जिप, कार र भ्यान) को आयात सङ्ख्यामा भने केही गिरावट आएको छ। चालु आर्थिक वर्षको सात महिनामा १ अर्ब १६ करोड १३ लाख रुपैयाँ बराबरका ६ सय ९ वटा मात्रै इन्धनका जिप, कार र भ्यान भित्रिएका छन्। गत वर्षको सोही अवधिमा ७ सय ४८ वटा यस्ता सवारीसाधन भित्रिएका थिए।

इन्धनबाट चल्ने सवारीको आयात सङ्ख्या घटे पनि समग्र सवारी र पार्टपुर्जाको आयात मूल्य र त्यसबाट संकलन हुने राजस्वमा देखिएको बढोत्तरीले अटोमोबाइल क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुँदै गएको सङ्केत गरेको छ।


सम्बन्धित समाचार