१८ चैत, काठमाडौं । नेकपा एमालेभित्र संसदीय दलको नेता चयनका लागि आन्तरिक प्रतिस्पर्धा पेचिलो बनेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकमा सहमतिको प्रयास असफल भएपछि अन्ततः निर्वाचनमार्फत नै नेता छान्ने निश्चित भएको हो । यसपटकको प्रतिस्पर्धामा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङ आमनेसामने हुने भएका छन्, जसले पार्टीभित्रको पुरानो र नयाँ पुस्ताबीचको शक्ति सङ्घर्षलाई समेत संकेत गरेको छ ।
निर्वाचन संयोजक निरज आचार्यका अनुसार उपाध्यक्ष थापाले आफ्नो उम्मेदवारी दर्ता गराइसक्नुभएको छ भने सुहाङ नेम्वाङले पनि उम्मेदवारीका लागि मनोनयन पत्र बुझिसक्नुभएको छ । फागुन २१ को निर्वाचनपछि प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिटमा खुम्चिएको एमालेका लागि संसदीय दलको नेतृत्व चयन निकै महत्त्वपूर्ण मानिएको छ । दलभित्रको यो आन्तरिक लोकतान्त्रिक अभ्यासले पार्टीको आगामी संसदीय भूमिका र रणनीतिलाई समेत दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली नै संसदीय दलको नेता रहँदै आउनुभएको थियो, तर वर्तमान राजनीतिक घटनाक्रम र बदलिँदो परिस्थितिका बीच नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
२५ सदस्यीय संसदीय दलमा कसले बाजी मार्छ भन्ने विषयले एमालेको आन्तरिक राजनीतिमा मात्र नभई सदनभित्रको सत्ता समीकरणमा समेत चासो बढाएको छ । निर्वाचनको अन्तिम नतिजा आएपछि मात्रै एमालेको संसदीय मोर्चालाई कसले हाँक्नेछ भन्ने स्पष्ट हुनेछ ।

















