Logo

१८ चैत, वीरगञ्ज । पर्सा–१ का सांसद हरि पन्त ले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सा–१ सँग जोडिएका विभिन्न गम्भीर विषयहरू उठान गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटघाटका क्रममा सांसद पन्तले सिर्सिया नदीको बढ्दो प्रदूषणप्रति ध्यानाकर्षण गराउँदै अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए। साथै, उनले किसानहरूलाई आवश्यक पर्ने मल समयमै र पर्याप्त मात्रामा उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएको बताएका थिए।

त्यसैगरी, वीरगञ्जका क्यासिनोहरूबारे बोल्दै सांसद पन्तले अधिकांश क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराउँदै स्थानीयलाई आर्थिक रूपमा समस्यामा पारिरहेको आरोप लगाए। यस्तो गतिविधिप्रति प्रहरी र प्रशासन मौन बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा ढाट राखेर अवैध रूपमा शुल्क असुलिरहेको विषय पनि उनले उठाएका थिए। यसबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुरा गर्दा एकअर्कालाई जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको गुनासो उनले प्रधानमन्त्रीसमक्ष राखे।

सांसद पन्तका गुनासाहरू सुनेपछि प्रधानमन्त्री शाहले तत्कालै प्रहरी महानिरीक्षक र गृह सचिवलाई आवश्यक निर्देशन दिने आश्वासन दिएका थिए। उनले जनप्रतिनिधिले उठाएका जायज विषयहरू सम्बन्धित निकायले बेवास्ता गर्न नमिल्ने पनि स्पष्ट पारे।

भेटघाटमा श्रम मन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह तथा मधेस प्रदेशका अन्य सांसदहरूको पनि उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार