१८ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग बजेट पूर्वको तयारी र क्षेत्रीय समस्याका विषयमा बुधबार सिंहदरबारमा झण्डै तीन घण्टा लामो छलफल गर्नुभएको छ ।
प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाट गर्ने क्रमलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले बुधबार मधेशका ३० जना सांसदहरूसँग साक्षात्कार गर्नुभएको हो। बैठकमा आगामी बजेटअघि नै अल्पकालीन रूपमा सम्बोधन गर्न सकिने योजना र मधेसका समसामयिक मुद्दाहरूका बारेमा केन्द्रित रहेर छलफल भएको थियो।
सुशासन, चुरे संरक्षण र हुलाकी राजमार्गका एजेण्डा
छलफलका क्रममा सांसदहरूले मधेश प्रदेशको लाइफलाइन मानिएको हुलाकी राजमार्गको निर्माण, चुरे संरक्षण, र कोभिड कालदेखि बन्द रहेका छोटी भन्सारहरू पुनः सञ्चालन गर्नुपर्ने माग राखेका थिए । विशेषगरी सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै मालपोत र सिडिओ कार्यालयमा सर्वसाधारणले भोग्नुपरिरहेको सास्ती हटाउन आग्रह गरे ।
यस्तै, मधेसको विकराल समस्याका रूपमा रहेको मिटरब्याज पीडितको न्याय र ऐलानी जग्गा व्यवस्थापनका विषयमा पनि सांसदहरूले जोडदार रूपमा आवाज उठाएका थिए ।
मन्त्रालयगत समाधान र कार्यान्वयनको प्रतिबद्धता
बैठकको अधिकांश समय सांसदहरूका सुझाव र गुनासो सुन्नमा खर्चिनुभएका प्रधानमन्त्री शाहले अन्त्यमा संक्षिप्त मन्तव्य राख्दै सबै मागहरूलाई सचिवालयले प्राथमिकताका साथ टिपोट गरेको जानकारी दिनुभयो । उहाँले सांसदहरूले उठाएका विषयहरूलाई सम्बन्धित मन्त्रालयको कार्यक्षेत्र अनुसार वर्गीकरण गरी समाधानको पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
छोटो अवधिमा सम्पन्न हुन सक्ने कामहरूलाई तुरुन्तै अघि बढाइने आश्वासन दिँदै उहाँले आवश्यक थप दस्तावेजहरू सचिवालयमा उपलब्ध गराउन समेत सांसदहरूलाई आग्रह गर्नुभयो ।

















