१८ चैत, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गम्भीर सचेत गराएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले खड्काले आफूसँग नभएको जिम्मेवारी दाबी गर्दै नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको ठहर गरेको हो । नेता रमेश लेखकको पक्राउको विरोधमा गत शनिबार खड्काले आफू अझै कार्यवाहक सभापति रहेको उल्लेख गर्दै विज्ञप्ति निकालेका थिए, जसलाई समितिले विधान र प्रचलित कानुन विपरीतको कार्य भनेको छ ।
केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकले खड्काको यस्तो कदमलाई अनुशासनहीनताको संज्ञा दिँदै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन कडा निर्देशन दिएको छ। समितिका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भ्रम सिर्जना हुने गरी पार्टीको आधिकारिक लेटरप्याड दुरुपयोग गर्नु गलत भएको उल्लेख छ । समितिले अब उप्रान्त यस्ता भ्रामक र अनधिकृत कार्य गर्ने जो कोहीलाई पनि पार्टी विधान र देशको प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद र जिम्मेवारीको किचलो सतहमा आइरहेका बेला अनुशासन समितिले यो निर्णय लिएको हो। समितिमा गुरुङसहित केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल रहेका छन् ।
यो घटनाले कांग्रेसभित्र नेतृत्व र पदीय मर्यादालाई लिएर देखिएको अन्योललाई थप उजागर गरेको छ भने अर्कोतर्फ समितिले आफ्नो सक्रियता देखाउँदै नेताहरूलाई जिम्मेवार बन्न सङ्केत गरेको छ ।

















