Logo

१९ चैत, काठमाडौँ । देशभरका मालपोत तथा भूमि सुधार कार्यालयहरूमा बिचौलिया र अनधिकृत व्यक्तिहरूको बढ्दो चलखेललाई नियन्त्रण गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले कडा कदम चालेको छ।

विभागले बुधबार सबै कार्यालयहरूलाई परिपत्र गर्दै कार्यालयका गोप्य स्रेस्ता, ढड्डा र संवेदनशील कागजातहरूमा बाहिरी व्यक्तिको पहुँच पूर्ण रूपमा रोक्न निर्देशन दिएको हो ।

विभागका शाखा अधिकृत कुलप्रसाद पराजुलीद्वारा हस्ताक्षरित पत्रमा मालपोतका विभिन्न फाँटहरूमा हुने अनधिकृत भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाइएको छ। ‘भूमि प्रशासन निर्देशिका, २०८१’ को दफा ६ र ३२३ मा मोठको सुरक्षा र मिसिल तथा लिखत कागजातहरू बाहिरी व्यक्तिलाई दिन नहुने कानुनी प्रावधान भए पनि व्यवहारमा त्यसको उल्लंघन भइरहेको विभागको निष्कर्ष छ ।

अनुगमनका क्रममा लेखापढी व्यवसायी, भू–सेवा केन्द्रका सञ्चालक तथा सहयोगीहरू कार्यालयको गोप्य कक्षसम्म पुग्ने गरेको पाइएको छ। “अनधिकृत व्यक्तिहरू फाँट–फाँटमा प्रवेश गरी मोठ स्रेस्ता, रोक्का अभिलेख र तामेली शाखाका कागजातहरू हेर्ने मात्र नभई एक शाखाबाट अर्को शाखामा फाइल आफैँ ओसारपसार गर्ने गरेको समेत पुष्टि भएको छ,” विभागको पत्रमा उल्लेख छ ।

कार्यालयको गोपनीयता र सुरक्षामा आँच पुगेको भन्दै विभागले अबदेखि कर्मचारीबाहेक अन्य व्यक्तिले फाइल छुने, ढड्डा पल्टाउने वा विवरण हेर्ने जस्ता कार्यलाई तत्काल रोक्न आदेश दिएको छ।

विभागको यो निर्देशनपछि अब देशभरका मालपोत कार्यालयहरूमा सर्वसाधारणका व्यक्तिगत र सरकारी सम्पत्तिका अभिलेखहरू थप सुरक्षित हुने र बिचौलियाको दादागिरी अन्त्य हुने अपेक्षा गरिएको छ। निर्देशन पालना नगर्ने कार्यालय प्रमुखमाथि समेत विभागीय कारबाही हुन सक्ने चेतावनी दिइएको छ ।


सम्बन्धित समाचार