Logo

१९ चैत, काठमाडौँ । आज विश्वभर विभिन्न कार्यक्रम गरी ‘विश्व अटिजम सचेतना दिवस’ मनाइँदैछ । अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा उनीहरूको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउन लागिएको हो ।

विशेषज्ञहरूका अनुसार अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित एक विशेष अवस्था हो। यस अवस्थामा रहेका व्यक्तिहरूले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछन्। उनीहरूको बोल्ने, सोच्ने र प्रतिक्रिया जनाउने शैली फरक हुने गर्दछ । यो कुनै रोग नभई जन्मजात हुने मस्तिष्क विकासको भिन्नता हो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि हरेक वर्ष अप्रिल २ तारिखका दिन यो दिवस मनाउन प्रारम्भ गरिएको हो । यस वर्ष राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाह गर्न आफ्ना सदस्य राष्ट्रहरूलाई अनुरोध गरेको छ ।

दिवसको अवसरमा एक विशेष सन्देश जारी गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अटिजम भएका व्यक्तिहरूको मानवअधिकार र मौलिक स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । “अटिजम भएका व्यक्तिहरूको समाजमा समान सहभागिता सुनिश्चित हुनुपर्छ र उनीहरूको अधिकारको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गरिनुपर्छ,” महासचिव गुटरेसले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

अटिजम भएका व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउन र उनीहरूमा रहेको विशिष्ट क्षमतालाई कदर गर्नका लागि सामाजिक चेतना अभिवृद्धि गर्नु आजको मुख्य आवश्यकता रहेको विज्ञहरूको भनाइ छ ।


सम्बन्धित समाचार