१९ चैत, काठमाडौं । सहकारी क्षेत्रमा देखिएको विकराल समस्या सुल्झाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सक्रियता बढाउनुभएको छ ।
सरकारले आफ्नो सय दिने प्राथमिकतामा साना बचतकर्ताको रकम फिर्ता गराउने लक्ष्य राखेसँगै मन्त्री रावलले आज चैत १९ गते बिहानैदेखि मन्त्रालयमा देशभरका सहकारी पीडितहरूसँग प्रत्यक्ष संवाद सुरु गर्नुभएको हो । लामो समयदेखि आफ्नो गाँसबास कटाएर जम्मा गरेको बचत फिर्ता नपाउँदा छटपटिएका सर्वसाधारणले आज मन्त्रालय पुगेर मन्त्रीसमक्ष आफ्ना मर्मस्पर्शी गुनासा र समस्याहरू प्रत्यक्ष रूपमा राख्ने अवसर पाएका छन् ।
पीडितहरूसँगको छलफलका क्रममा मन्त्री रावलले सहकारी समस्या समाधानलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । उहाँले मन्त्रालय पीडितहरूको आँसु पुछ्न र उनीहरूको बचत सुरक्षित फिर्ता गराउन पूर्ण रूपमा गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि चरणबद्ध योजनाहरू अघि सारिएको जानकारी दिनुभयो ।
विशेषगरी पहुँच नभएका साना बचतकर्ताहरूलाई तत्काल राहत दिने सरकारको योजना रहेको भन्दै मन्त्री रावलले यस संवादले समस्या समाधानका लागि ठोस मार्गचित्र तयार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

















