Logo

१९ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरको रात्रिकालीन जनजीवनलाई चलायमान बनाउन र रात्रिकालीन समयमा हुने महँगो यात्राको बाध्यता अन्त्य गर्न नयाँ वर्ष २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्ने भएको छ ।

साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुने यस सेवाले विशेष गरी बेलुका ८ बजेपछि यातायातको विकल्प नहुँदा महँगो ट्याक्सी वा अन्य सवारी साधन प्रयोग गर्नुपर्ने सर्वसाधारण, विद्यार्थी र कामदारहरूलाई ठूलो राहत दिने लक्ष्य राखेको छ । महानगरका अनुसार यो सेवा सुरुमा मुख्य दुईवटा रुटमा केन्द्रित हुनेछ, जसमा उत्तर–दक्षिण १६ किलोमिटरको लगनखेलदेखि बुढानीलकण्ठ खण्ड र पूर्व–पश्चिम २० किलोमिटरको थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मको खण्ड समेटिनेछन् ।

यी रुटहरूमा कुल ४ वटा अत्याधुनिक विद्युतीय बसहरू राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन् । यात्रुहरूको सुविधाका लागि प्रत्येक २० मिनेटको अन्तरालमा बस स्टपहरूमा बस आइपुग्ने व्यवस्था मिलाइएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार रात्रिकालीन समयमा सार्वजनिक यातायात नहुँदा किशोरी, महिला र विद्यार्थीहरूले भोग्नुपरेको सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न यो कदम चालिएको हो ।

यात्रालाई सुरक्षित र भरपर्दो बनाउन प्रत्येक बसमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने सुरक्षा व्यवस्थाका लागि नगर प्रहरीको समेत उपस्थिति रहने सुनिश्चित गरिएको छ । यो पहलले काठमाडौँलाई सुरक्षित र व्यवस्थित रात्रिकालीन सहरका रूपमा विकास गर्ने महानगरको दीर्घकालीन योजनालाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार