Logo

१९ चैत, काठमाडौं । जेन–जी आन्दोलनको छानबिन प्रतिवेदनका आधारमा पक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा थप जटिलता देखिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको बिहीबार सार्वजनिक भएको स्वास्थ्य रिपोर्टमा पिसाबको संक्रमण (युरिन इन्फेक्सन) पुष्टि भएको छ । दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा देखिएको यो नयाँ संक्रमणले गर्दा उनको पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी निकाल्न तय गरिएको शल्यक्रिया तत्कालका लागि स्थगित गरिएको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार पहिले पिसाबको संक्रमण पूर्ण रूपमा निको भएपछि मात्र शल्यक्रियाको प्रक्रिया अघि बढाउने गरी चिकित्सकहरूबीच छलफल भइरहेको छ ।

चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याइएका ओलीलाई हाल ‘एनेक्स–१ को बेड नम्बर ५०१ मा कडा चिकित्सकिय निगरानीमा राखिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसमा पक्राउ परेका ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धानका लागि अदालतले दिएको पाँच दिनको म्याद सकिएकाले प्रहरीले आज पुनः थप अनुमतिका लागि प्रक्रिया अघि बढाउँदै छ ।

स्वास्थ्यमा समस्या देखिएकाले ओली अस्पतालमै रहे पनि पूर्वगृहमन्त्री लेखकलाई भने प्रहरी हिरासतमै राखिएको छ । एउटा उच्चस्तरीय राजनीतिक व्यक्तित्व हिरासतमा रहेको र गम्भीर स्वास्थ्य समस्या देखिएको यस घडीलाई राजनीतिक र कानुनी दुवै दृष्टिकोणले निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार