Logo

१९ चैत, काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङले प्रतिनिधि सभाको रोस्टमबाटै अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने जोडदार माग राख्नुभएको छ ।

नयाँ संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले एमसीसीलाई ‘असमान र राष्ट्रघाती’ सम्झौताको संज्ञा दिँदै यसले देशको सार्वभौमिकतामा आँच पुर्‍याउने दाबी गर्नुभयो । साम्पाङले संसद्‌मा भावनाका कुरा भन्दा पनि जनताको आवाज र मुलुकको आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आफ्नो अडान स्पष्ट पार्नुभएको हो ।

सम्बोधनका क्रममा सांसद साम्पाङले नेपालको असंलग्न परराष्ट्र नीति र स्वाधीनताको रक्षाका लागि सैन्य रणनीतिक उद्देश्य बोकेका यस्ता वैदेशिक सम्झौताहरू घातक हुने तर्क गर्नुभयो । उहाँले एमसीसी केवल एउटा व्यापारिक सन्धि मात्र नभएर रणनीतिक स्वार्थसँग जोडिएको भन्दै यसलाई तत्काल खारेज गरी राष्ट्रिय हितको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संसद्को पहिलो दिनमै उहाँले उठाएको यो विषयले सदनमा राष्ट्रियता र वैदेशिक सहायताका मुद्दामा आगामी दिनमा बहस थप तीव्र हुने सङ्केत गरेको छ ।


सम्बन्धित समाचार