१९ चैत, काठमाडौं । नेकपाका उपाध्यक्ष एवं सांसद वर्षमान पुनले विगतका राजनीतिक अवसरहरूलाई सही ढंगले सदुपयोग गर्न नसकिएको भन्दै आत्मसमीक्षा गर्नुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै पुनले २०६४ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) ले प्राप्त गरेको भारी बहुमत र जनमतलाई पार्टीले ठोस परिणाममा बदल्न नसकेको स्वीकार गर्नुभयो । इतिहासको संस्मरण गर्दै उहाँले २०७४ सालमा दुई ठूला वामपन्थी दल मिलेर प्राप्त गरेको सफलता र त्यसपछिको पार्टी एकतालाई समेत जोगाउन नसक्नु राजनीतिक कमजोरी रहेको औँल्याउनुभयो ।
वर्तमान राजनीतिक परिदृश्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई संकेत गर्दै नेता पुनले विगतका गल्तीहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ शक्तिहरूलाई इतिहासको त्यो अनुभवबाट शिक्षा लिएर देश र जनताको हितमा अघि बढ्न सुझाव समेत दिनुभयो ।
नेकपाले सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले सत्ता र शक्तिको उन्मादभन्दा पनि जनमतको कदर गर्दै अघि बढ्नु नै अहिलेको मुख्य चुनौती रहेको धारणा राख्नुभयो । उहाँको यो स्पष्टोक्तिलाई संसद्मा एक परिपक्व राजनीतिक स्वीकारोक्तिका रूपमा हेरिएको छ ।

















