१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न अदालतले अनुमति दिएको छ।
लामिछाने बुधबार जिल्ला अदालत पुगेर तारेख बुझेका थिए। सोही क्रममा उनले वारेसमार्फत मुद्दा लड्न पाउन माग गरेका थिए। बिहीबार न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले उनको मागअनुसार अनुमति प्रदान गरेको हो।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार तारेख बुझेसँगै लामिछानेलाई वारेस नियुक्त गरी मुद्दा अगाडि बढाउने अनुमति दिइएको हो।
यससँगै अब लामिछानेले तारेखका लागि पर्सा जिल्ला अदालतमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने छैन। उनीविरुद्ध पर्सास्थित सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा विचाराधीन छ।
लामिछाने फागुन २१ गते सम्पन्न निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

















