२० चैत, वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज दोस्रो दिन देशभर अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन भइरहेको छ । देशभरका तोकिएका परीक्षा केन्द्रहरूबाट बिहान ८:०० बजेदेखि एकैसाथ परीक्षा सुरु हुने भएको हो । हिजो पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
यस वर्षको एसईईमा देशभरबाट कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी छन्। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन् ।
परीक्षा तालिकाअनुसार चैत २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन र २५ गते ऐच्छिक प्रथम खण्डका विषयहरूको परीक्षा हुनेछ । त्यसैगरी, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको एसईईमा पर्सा जिल्लाबाट मात्र १० हजार ७०३ जना परीक्षार्थी सहभागी भएका छन् । जिल्लाका विभिन्न केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पार्दै मर्यादित रूपमा परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै केन्द्रहरूमा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकाको व्यवस्थापन चुस्त राखिएको छ । यो परीक्षा आगामी चैत २९ गते सम्पन्न हुनेछ।

















