Logo

२५ जेठ, काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै स्थानीय तहलाई संविधान प्रदत्त पूर्ण अधिकार सम्पन्न बनाउनुपर्ने मागसहित जनमत पार्टीले सोमबार काठमाडौँको माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरेको छ ।

स्थानीय सरकारको स्वायत्ततामाथि भइरहेको सङ्कुचन र सङ्घीयताको फितलो कार्यान्वयनविरुद्ध पार्टीका नेता तथा कार्यकर्ताहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

माइतीघर मण्डलालाई केन्द्रविन्दु बनाएर गरिएको उक्त विरोध प्रदर्शनमा सहभागीहरूले ‘कांग्रेस–कम्युनिस्टको धोका’ भन्दै मुख्य राजनीतिक दलहरूको आलोचना गरेका छन् । साथै, ‘बालेन, नठग’ जस्ता नारा र ‘स्थानीय सरकारलाई अधिकार देु लेखिएका प्लेकार्डहरूले काठमाडौँको सडकमा कडा सन्देश प्रवाह गरेका थिए ।

उनीहरूले चुनावका बेला गरिएका वाचाहरू बिर्सने प्रवृत्ति र जनताप्रति उत्तरदायी नहुने नेतृत्वको चर्को आलोचना गर्दै स्थानीय तहको स्रोत, साधन र निर्णय क्षमतामाथि भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका छन् ।

प्रदर्शनका क्रममा वक्ताहरूले सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयन र स्थानीय सरकारको आत्मसम्मान बढाउनुपर्नेमा जोड दिएका छन्। माइतीघरमा शान्तिपूर्ण रूपमा आयोजित विरोध कार्यक्रममा पार्टीले आफ्नो अडान स्पष्ट पार्दै सरकारलाई कडा चेतावनी दिएको छ ।

यदि स्थानीय तहलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने दिशामा सरकार गम्भीर नबनेको खण्डमा थप सशक्त र निर्णायक आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनीसमेत जनमत पार्टीले दिएको छ ।


सम्बन्धित समाचार