२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर नपार्न कडा चेतावनी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संसद्मा प्रतिपक्ष कमजोर देखिएकै आधारमा सरकार स्वेच्छाचारी बन्न खोजेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् ।
बैठकपछि प्रतिक्रिया दिँदै लिङ्देनले वर्तमान सरकारका प्रारम्भिक काम कारबाहीका लक्षणहरू सन्तोषजनक नरहेको टिप्पणी गरे। उनले प्रतिपक्षको सङ्ख्यात्मक न्यूनतालाई सरकारले आफ्नो विकल्पहीनता वा सर्वशक्तिमान भएको भ्रमका रूपमा लिन नहुने स्पष्ट पारे ।
‘प्रतिपक्ष गणितीय हिसाबले कमजोर छ भन्दैमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको संवैधानिक व्यवस्थालाई भत्काउने काम नहोस्’ उनले सरकारलाई सचेत गराउँदै भने, ‘अपरिपक्व व्यवहार र वैदेशिक सम्बन्धमा देखाइएको हेलचेक्य्राइँ मुलुकका लागि घातक सिद्ध हुन सक्छ ।’
यसैगरी, लामिछानेको भारत भ्रमणका सन्दर्भमा लिङ्देनले कूटनीतिक परिपक्वताको अभाव औँल्याए। भ्रमणअघि नै सर्वदलीय बैठक आयोजना गरिएको भए त्यसले भ्रमणलाई थप अर्थपूर्ण र विवादरहित बनाउने उनको तर्क थियो ।
लामिछानेले भारतमा व्यक्त गरेको ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्ने अभिव्यक्तिको प्रसङ्ग जोड्दै लिङ्देनले वैदेशिक सम्बन्धमा अत्यधिक संवेदनशीलता अपनाउन सुझाव दिए । यद्यपि, उक्त बैठकमा संसद्को जारी गतिरोध अन्त्य गर्ने विषयमा भने कुनै ठोस छलफल नभएको उनले प्रस्ट्याए ।

















