२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनालाई सुदृढ पार्ने उद्देश्यका साथ देशव्यापी रूपमा अघि बढाएको जिल्ला अधिवेशनका कार्यहरू तीव्रताका साथ अघि बढेका छन् ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, गत जेठ २३ र २४ गते निर्धारित ६८ जिल्लामध्ये हालसम्म ५६ वटा जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
पार्टीले दिएको पछिल्लो जानकारी अनुसार, अझै पनि १२ वटा जिल्लामा अधिवेशनको प्रक्रिया जारी छ भने सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित भएको छ । त्यसैगरी, पार्टीले केही दुर्गम जिल्लाहरूमा भने हालसम्म अधिवेशन सुरु गर्न सकेको छैन । प्रवक्ता झाका अनुसार डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा अहिलेसम्म अधिवेशन हुन बाँकी छ ।
पार्टीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भए पनि मधेस प्रदेशका केही जिल्लाहरूमा भने निर्वाचनको चरण जारी रहेको देखिन्छ । समग्रमा रास्वपाले आफ्नो संगठनलाई तल्लो तहसम्म विस्तार गर्न र नेतृत्व चयन प्रक्रियालाई लोकतान्त्रिक बनाउन यसपटकको अधिवेशनलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

















