Logo

२० चैत, काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार चैत २२ गते हुने निर्वाचनका लागि आज मनोनयनको प्रक्रिया अघि बढाइएको हो ।

सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दर्ता भएका उम्मेदवारहरूको सूची आजै दिउँसो २:३० बजे सूचनाको दर्ता क्रमअनुसार प्रकाशित गरिनेछ । यसरी दर्ता भएका उम्मेदवारहरूका बीचमा चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा मतदान प्रक्रियामार्फत सभामुखको चयन गरिनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले राखेका प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

प्रतिनिधिसभामा रास्वपाको वर्तमान समीकरण र बहुमतको अवस्थालाई हेर्दा अर्याल सभामुखमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । अर्याल यसअघि सरकारमा मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका अनुभवी नेता हुन् ।

सभामुखको निर्वाचनलाई लिएर अन्य राजनीतिक दलहरूले आफ्नो रणनीति सार्वजनिक नगरे पनि आजको उम्मेदवारी दर्तापछि संसद्को शक्ति सन्तुलन थप प्रष्ट हुने देखिएको छ ।


सम्बन्धित समाचार