२० चैत, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणमा सहभागी भएका राजनीतिक शक्तिहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पुनः एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा परिवर्तनका पक्षधरहरू मिल्नुको विकल्प नरहेको बताए ।
अध्यक्ष प्रचण्डले जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डता र क्रान्तिका उपलब्धिहरूमाथि चुनौती देखिन थालेको उल्लेख गरे । “यी प्राप्तिको संरक्षण र सम्बद्र्धनका लागि बाह्रबुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरूबीच सुदृढ सहकार्य आवश्यक छ,” उनले भने ।
परिवर्तनकारी शक्तिहरूलाई एकै ठाउँमा ल्याउन आफ्नो पार्टीले आवश्यक समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।
हालै सम्पन्न निर्वाचनको सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचन परिणाम अपेक्षा गरे अनुरूप नआए पनि जनताको जनादेशलाई पूर्ण रूपमा सम्मान गर्ने प्रस्ट पारे । उनले भने, “हामी चुनावी परिणामलाई सहर्ष स्वीकार गर्छौँ। संसद्मा हामी रचनात्मक प्रतिपक्षको भूमिकामा रहनेछौँ। सरकारले गर्ने राम्रा कामको समर्थन र जनविरोधी एवं गलत कामको प्रखर विरोध हाम्रो मुख्य कार्यभार हुनेछ।”
सोही कार्यक्रममा बोल्दै पार्टी सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको नतिजाबाट नेता तथा कार्यकर्ताहरूलाई विचलित र निराश नहुन आग्रह गरे । उनले राजनीतिमा हार-जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उच्च मनोबलका साथ अघि बढ्न निर्देशन दिए ।
नेता नेपालले अबको परिस्थितिमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, “अहिलेको मुख्य आवश्यकता भनेको पार्टीभित्रको वैचारिक शुद्धीकरण, समग्र पुनर्गठन र पुनर्जागरण हो। हामी नयाँ उत्साहका साथ जनताको बीचमा जानुपर्छ।”
कार्यक्रममा पार्टीका अन्य शीर्ष नेताहरूले पनि वर्तमान राजनीतिक गतिरोध अन्त्य र पार्टी सङ्गठन सुदृढीकरणका विषयमा धारणा राखेका थिए ।

















