२० चैत, काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक कलह र आगामी राजनीतिक रणनीति तय गर्न शुक्रबार दिउँसो पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ुबादलुको अध्यक्षतामा बसेको यस बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी, चैत १९ गतेको प्रतिनिधि सभा बैठकमा संसदीय दलको नेताका हैसियतले बादलले दिएको विवादास्पद अभिव्यक्ति—जसमा उनले निर्वाचनको परिणामलाई सेना, कर्मचारीतन्त्र र विदेशी संस्थाको षड्यन्त्रका रूपमा व्याख्या गरेका थिए—त्यसलाई लिएर पार्टीभित्रै तीव्र असन्तुष्टि चुलिएको छ ।
उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डेले बादलको उक्त विचार पार्टीको आधिकारिक नीति र जबजको मान्यता विपरीत रहेको भन्दै सचिवालय बैठकमा यसबारे गम्भीर समीक्षा हुनुपर्ने माग राख्दै आएका छन् ।
बैठकले बादलको अभिव्यक्तिको विवाद सुल्झाउने मात्र नभई प्रतिनिधि सभाको सभामुख चयनका विषयमा पनि ठोस निर्णय लिने अपेक्षा गरिएको छ। आज दिउँसो २ बजेसम्म सभामुखको मनोनयन दर्ताको समय रहेकाले एमालेले आफ्नो छुट्टै उम्मेदवारी दिने वा विपक्षी गठबन्धनको साझा रणनीतिमा सामेल हुने भन्नेबारे यसै बैठकले टुंगो लगाउनेछ ।
सत्तापक्ष रास्वपाले डीपी अर्याललाई अघि सारिसकेको र कांग्रेसले प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेको अवस्थामा एमाले सांसद ऐन महरले विपक्षीका तर्फबाट अर्को उम्मेदवार नआए एमालेले उपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने संकेत दिएका छन् । यसरी एकातिर नेतृत्वमाथिको प्रश्न र अर्कोतिर संसदीय भूमिकाको चुनौतीबीच सुरु भएको यो सचिवालय बैठकले एमालेको आगामी दिशा तय गर्ने देखिन्छ ।

















