२० चैत,वीरगञ्ज । रौतहटको सदरमुकाम गौरस्थित मालपोत कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले एकाराम नरेश, सिकित नारायण, संजय कुमार र बब्लु प्रसादलाई नियन्त्रणमा लिएको हो। उनीहरू सेवाग्राहीलाई विभिन्न बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप छ।
प्रहरीका अनुसार जग्गा पास तथा विक्रीलगायतका काम छिटो गराइदिने प्रलोभन देखाएर सेवाग्राहीबाट रकम असुल्ने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
लामो समयदेखि मालपोत कार्यालय परिसर तथा वरिपरि सक्रिय रहेका यी व्यक्तिहरूले सर्वसाधारणलाई दुःख दिँदै आएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो।
हाल पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्।

















